आज चैते दशैँ : कहाँ कहाँ गरिन्छ पुजा ?
अखबार टुडे
प्रकाशित:
२०७८, ७ बैशाख

काठमाडौं, ७ बैशाख । आज चैते दशैँ । नेपालीहरुले विभिन्न पुजाआजा गर्दै आज दसैँ मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाइन्छ ।
चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।
काठमाडौं उपत्यकाका गुहृयेश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । यस अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया