बाँकेमा कोरोनाबाट स्टाफ नर्ससहित दुईको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

बाँके, ६ बैशाख । बाँकेमा सोमबार कोरोना संक्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको सोमबार बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार ६ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।
यस्तै, बाँकेमा होमआइसोलेशनमा रहेका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।
उनको अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घरोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा सोमबार बिहान करीब १ बजे मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

प्रतिक्रिया