एमालेले माधव नेपालसहित पाँच नेतालाई स्पष्टिकरण सोध्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

काठमाडौं, ६ बैशाख । नेकपा एमाले ओली पक्षले बरिष्ठ नेता माधव नेपालसहितका केन्द्रका चार नेता र प्रकाश ज्वालालगायत कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ५ जनालाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे साथै प्रकाश ज्वालासहित ५ जनालगायतलाई अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोधिने भएको छ ।
चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले उनीहरूले कारवाही गर्ने बताइएको छ । कानूनबमोजिम मनासिव माफिकको सफाइ पेस गर्ने मौका दिनका लागि २ दिनको अन्तिम चेतावनीसहितको स्पष्टीकरण मागिएको एक नेताले बताए । त्यसपछि माधव नेपालसहितका नेताहरूमाथि थप कडा कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया