त्यसपछि विमानस्थलमा गुञ्जियो नारा, ‘राजा आऊ, देश बचाऊ, गणतन्त्र धोका हो’
अखबार टुडे
प्रकाशित:
२०७८, ५ बैशाख

काठमाडौं, ५ बैशाख । ‘राजा आऊ, देश बचाऊ, प्राणभन्दा प्यारो छ हाम्रो राजा, गणतन्त्र धोका हो’ । आइतबार यस्तै नाराले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थल गुञ्जायस भयो । यस्ता नारा लाग्दै गर्दा २०४७ साल अघिको समयलाई स्मरण गराएको थियो ।
आइतबार युवाहरुको एउटा जत्था, जो विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब एक घण्टादेखि पर्खिरहेका थिए । उनीहरु भन्दैथिए, ‘अब ल्याण्ड हुनै लाग्नुभयो ।’ उनीहरु तम्तयारमा थिए, नारा लगाउनलाई ।
पूर्वराजा शाह आइतबार भारतको धार्मिक भ्रमण सकेर स्वदेश फर्कँदैथिए । भारतको हरिद्वारको कुम्भ मेलाको शाही स्नानमा सरिक भएका आइतबार नेपाल फर्किएका उनलाई स्वागत गर्न सयौँको संख्यामा युवाहरु विमानस्थल पुगेका थिए । पूर्वराजा शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा उनका समर्थकले खुसी भव्य स्वागत गरेका थिए ।
पूर्वराजाको स्वागतको लागि विमानस्थल पुगेका उनका समर्थकहरूले त्यतिखेरै नारा लगाउन थाले, जब ज्ञानेन्द्र विमानस्थलमा उत्रँदैथिए । पूर्वराजा शाहका स्वागतको लागि वीर गोर्खाली, जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन–२०७७ ले पूर्वराजाको भव्य स्वागत गरेका थिए ।
गत २६ चैतमा भारत पुगेका पूर्वराजा शाहलाई विशेष रथको व्यवस्था गरिएको थियो । शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरिको विशेष निम्तोमा मेलामा सहभागी हुन गएका थिए । भारतमा समेत यसपटक शाहले राम्रै चर्चा पाएका थिए । भारतको ठूला भनिएका मिडियाले समेत पुर्वराजा शाहको खबरलाई प्राथमिकताका साथ प्रसारण गरेका थिए ।

प्रतिक्रिया