बादलको आजै गृहमन्त्रीमै सपथ : रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन
अखबार टुडे
प्रकाशित:
२०७८, ५ बैशाख

काठमाडौं, ५ बैशाख । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आजै साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । माओवादीको लिखित पत्र पाएपछि संसद सचिवालयले आइीतबार विहान बादलको पदमुक्त भएको सूचना जारी गरेको थियो ।
बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन
यसैबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदबाट मुक्त भएका छन् । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सदस्य भएका उनी आइतबारदेखि पदमुक्त भएका हुन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।

प्रतिक्रिया