भेरी अस्पताल : तीन घण्टामा तीन जना संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ५ बैशाख

राँझा, ५ बैशाख । बाँकेको भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत ३१ चैतमा कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो ।
भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गएराति नै निधन भएको छ । गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।
बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

प्रतिक्रिया