देवरद्वारा भाउजुको हत्या, आरोपीले गरे आत्मसमर्पण
अखबार टुडे
प्रकाशित:
२०७८, ५ बैशाख

काठमाडौं, ५ बैशाख । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको हत्या गरेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेजनजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको हत्या गरेका हुन् ।
शनिबार साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हिर्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजूको हत्या गरेर ‘आत्मसमर्पण गर्न’ आएको बताएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
फलामको गलले हिर्काएर ४८ वर्षीय मोहनराजले भाउजूको हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । देवरले हिर्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृत घोषणा गरेका छन् ।
हत्या आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको रड बरामद गरेको छ । भाउजूले एक्कासि गाली गरेपछि लात्ती, मुड्की र गलले हिर्काएर हत्या गरेको आरोपीले बयान दिएका छन् ।

प्रतिक्रिया