कर्णाली प्रदेश : ‘फ्लोर क्रस’ गरेका तीन जनाले पाए मन्त्री पद
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

सुर्खेत, ४ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । यी तीनैजना एमालेका सांसद हुन् ।
उनीहरूले शुक्रबार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । शनिबारमात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको स्रोत भनाइ छ ।

प्रतिक्रिया