संघीय सरकार बदल्ने तयारी भइरहेको छ, त्यसैले अत्यन्त व्यस्त छु : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ४ बैशाख

काठमाडौं, ४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सरकार बदल्ने तयारी भइरहेको बताएका छन् । उनले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार हुँदै संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको बताए ।
शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आफूहरु अहिले सरकार गठन र पुनर्गठनको एउटा ठूलो प्रक्रियामा रहेकाले आफू अत्यन्त व्यस्त रहेको बताए ।
उनले भने, ‘कर्णालीमा के समस्या थियो र हिजो कहाँ गएर टुंगियो यहाँहरुले थाहा पाइसक्नुभएको छ । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको छ र बहुमतले सरकार परिवर्तनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित प्रस्ताव प्रदेश सभामा दर्ता भइसकेको छ । हामीले समर्थन फिर्ता पनि लिइसकेको छौँ ।’ अहिले पनि यसैबारे छलफलमा जाँदैछु ।’
लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइसकेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले भने, ‘अर्कोतर्फ केन्द्रमा यो अन्यौल र अराजकताको स्थिति अन्त्य गर्नका लागि हामी केन्द्रीय स्तरमा लगातार पहल गरेका छौँ । अहिले म यो मिटिङबाट सिधै त्यहि प्रक्रियामा सामेल हुन जाँदैछु ।’ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिने प्रस्तावमा बहुमत प्राप्त गरेका थिए । माओवादी मुख्यमन्त्री शाहीलाई कांग्रेस र नेकपा–एमालेको माधवकुमार नेपाल पक्षले मत दिएपछि उनको मुख्यमन्त्री पद सुरक्षित भएको छ ।

प्रतिक्रिया