जसपाको ठाकुर समूह ओली पक्षमा : प्रधानमन्त्री र महन्थ ठाकुर सहमतिनजिक
अखबार टुडे
प्रकाशित:
२०७८, ३ बैशाख

काठमाडौं, ३ बैशाख । सरकार र जनता समाजवादी पार्टी (जसपा) समझदारी नजिक पुगेको बताइएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमत्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच मुद्दा सम्बोधनदेखि सत्ता सहकार्यसम्म समझदारी भएको हो ।
प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरको उपस्थितिमा दुवै पक्षको कार्यदलका सदस्यले रेशम चौधरीलगायत बन्दीहरुको रिहाईको प्रक्रिया र मधेश आन्दोलनको क्रममा मुद्दा खेपिरहेकाहरूको न्यायिक प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।
कार्यदलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् ।
त्यस्तै जसपाबाट लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल सदस्य छन् । कार्यदलका सदस्यसमेत रहेका एमाले नेता डा.राजन भट्टराईले जसपासँग्को वार्ता सकारात्मक रहेको जनाएका छन् । उनका अनुसार वार्ता चाँडै निष्कर्षमा पुग्दैछ ।
सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर फिर्ता लिन मिल्ने मुद्दा फिर्ता हुने र रेशम चौधरीसहितका केही व्यक्तिको मुद्दा भने अदालती प्रक्रियाबाटमात्रै टुंगिने भएको छ ।
जसपाले माग गर्दै आएको संविधान संशोधनको मुद्दालाई समेत प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । त्यसका लागि सरकारले विज्ञहरु सम्मिलित आयोग गर्ने समझदारी भएको छ । लिखित सम्झौता भएपछि जसपा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेछ ।
सरकार र जसपाको महन्थ ठाकुर पक्षबीच भएको अहिलेसम्मको वार्ता र समझदारी प्रक्रियामा बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष भने सहभागी छैन ।

प्रतिक्रिया