देशैभर हावा हुण्डरी, सर्तक रहन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २ बैशाख

काठमाडौं, २ बैशाख । आज (बिहीबार) साँझदेखि देशैभर हावा हुण्डरी चलेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ । मौसमविद् प्रतिभा मानन्धरअनुसार प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको हो ।
उनका अनुसार अझै एक÷दुई घण्टासम्म हावाहुरी चल्नेछ । उनले भनिन्, ‘यो हावाहुरी प्रि–मनसुन एक्टिभिटीअन्तर्गत चलेको हो । अझै एक÷दुई घण्टा हावाहुरी चल्नेछ, वर्षा भएपछि यो विस्तारै घट्दै जान्छ ।’
शुक्रबार अपरान्ह पनि देशका केही भागमा हावाहुरी चल्ने उनको भनाइ छ । अहिले प्रदेश १, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा पनि हावाहुरी चलेको उनले बताइन् ।
स्थानीयस्तरमै निर्माण वायु दक्षिणबाट विस्तारै उत्तरपूर्वतिर जाने पनि उनको भनाइ छ । त्यस्तै विभागले हावाहुरीका कारण घरका छाना उडाउने, रुख भाँचिनेलगायतका दुर्घटना निम्तिन सक्ने भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको छ । हावाहुरीका कारण अहिलेसम्म कुनै क्षतिको विवरण नआएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया