प्रधानमन्त्रीद्वारा ‘मेरो कित्ता’ शुभारम्भ
अखबार टुडे
प्रकाशित:
२०७८, २ बैशाख

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा प्रशासनसम्बन्धी डिजिटल प्रविधि ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ अनलाइन एप्स औपचारिक शुभारम्भ गरेका छन् ।
बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासनसम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् ।
उक्त सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्यांक एप्समार्फत नै जानकारी पाउन सकिने बताइएको छ । सेवाग्राहीले घरमै बसेर आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्टसमेत उक्त एपबाट गर्न सकिने जनाइएको छ ।
यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने भएको छ । पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा उपलब्ध गराइने भएको छ ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएको भन्दै अब यस्तो ढिलासुस्ती नसहने चेतावनी दिएका छन् ।
ओलीले भने, ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’
प्रधानमन्त्री ओलीले कडाइ नगरेको भए मेलम्चीको पानी अहिले पनि आउने सम्भव नभएको बताए । उनले भने, ‘हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौँ । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

प्रतिक्रिया