भारतमा कोरोना भयावह ः एकैदिन दुई लाखभन्दा बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, २ बैशाख


काठमाडौं, २ बैशाख । भारतमा कोरोना भाइरसको संक्रमढा दिनदिनै बढिरहेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।
भारतमा अप्रिल ५ यता हरेकदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको भारतीय मिडियाले जनाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजारभन्दा बढी रहेको छ ।
संक्रमणका हिसाबले भारत ब्राजिललाई उछिन्दै विश्वकै दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म १ करोड ३६ लाख ७३ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने ३ लाख ६१ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ ।
त्यस्तै कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा संक्रमितको संख्या करिब ३ करोड १४ लाख पुगको छ भने ५ लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार साँझसम्म ११ करोड ४४ लाख ९३ हजार २ सय ३८ जनाले खोप लगाइसकेका छन् । तीमध्ये ३३ लाख १३ हजार ८ सय ४८ जनाले बुधबार मात्रै खोप लगाएका अधिकारीहरूले जनाएका छन् ।
भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५८ हजार ९ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाराष्ट्रमा थप २ सय ७८ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालसँग सीमा जोडिएका भारतीय राज्य उत्तर प्रदेश र बिहारमा बुधबार क्रमशः २० हजार ५ सय १० र ४ हजार ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया