राष्ट्रपतिबाट ‘चुच्चो नक्सा’ अंकित मानपदवी वितरण
अखबार टुडे
प्रकाशित:
२०७८, १ बैशाख

काठमाडौं, १ बैशाख । केही दिनअघि मात्र राष्ट्रपति विद्या भण्डारीले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रदान गरेको पदकमा अंकित नेपालको नक्सा बच्चो भएको भन्दै आलोचना भएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बुच्चो नक्साको आलोचना सेलाउन नपाउँदै नेपालको चुच्चो नक्सासहितको पदकबाट राष्ट्रपति भण्डारीले ४ सय ५० जनालाई सुशोभन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भएका विभूषणबाट उनीहरुलाई सुशोभन गरेकी हुन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको नाम यसअघि सार्वजनिक भइसकेको छ ।
यसअघि गत २७ चैतमा गरिएको सुशोभनमा पदकमा लिपुलेक र कालापानी समेटिएको ‘चुच्चे नक्सा’ नभएको आलोचना भएको थियो । तर, बुधबार वितरण गरिएको पदकमा संसदबाट पारित भई प्रचलनमा लिपुलेक र कालापानीसहितको नेपालको वास्तविक नक्सा (चुच्चो नक्सा) प्रयोगसहित विभिन्न व्यक्तित्वहरुलाई सुशोभन गरिएको छ ।
यसिअघि वितरण गरिएको बुच्चो नक्सालाई लिएर आलोचना भएपछि सरकारले स्पष्टिकरण नै दिएको थियो । त्यो पदक २०७६ सालको संविधान दिवसका अवसरमा घोषणा गरिएको र पदक लकडाउनका कारण वितरण हुन पुरानै नक्सा भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको थियो । संसदले २०७७ सालमा मात्र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा पारित गरेको थियो । २०७७ सालको पदकमा नयाँ नक्सा अंकित गरिएसँगै सोसम्बन्धी विवाद टुंगिएको छ ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६ जनालाई विभूषित गरिएको छ ।
त्यस्तै, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २ सय ४२, जनसेवाश्री पञ्चम श्रेणीमा १ सय ४ तथा अलङ्कारतर्फ १ सय १४, पदकतर्फ २७ गरी जम्मा ५ सय ९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो । तीमध्ये मान पदवी प्राप्त ४ सय ५२ जनालाई नयाँ वर्षको दिन पारेर बुधबार विभूषित गरिएको हो ।

प्रतिक्रिया