सातै प्रदेशमा चार्जिङ स्टेशन : कहाँ कहाँ राखिँदैछ ?
अखबार टुडे
प्रकाशित:
२०७८, १ बैशाख

काठमाडौं, १ बैशाख । सातै प्रदेशमा अब विद्युतीय सवारी चार्जिङ स्टेशन बन्ने भएको छ । यसका लागि विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार सम्भौता भएको हो । ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा भएको ठेक्का सम्झौताअनुसार सात प्रदेशका विभिन्न ५० स्थानमा स्टेशन निर्माण हुनेछ ।
एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताएका छन् । उनका अनुसार चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सर्फमर, अनलाइन विलिङ प्रणालीको जडान गरिनेछ ।
चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने भएको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्नेगरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।
चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा राखिने छ भने काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने भएको छ ।
यस्तै, प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा स्टेसन रहनेछन् भने २ नम्बर प्रदेशमा पर्साको वीरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।
यस्तै, बागमतीमा धादिङको मलेखुमा २ वटा, विपी राजमार्गको सिन्धुलीमा २ वटा, हेटौंडामा २, भरतपुरमा २ र कुरिनटारमा ४ तथा बनेपामा १ वटा चार्जिङ स्टेसन स्थापना गरिने भएको छ ।
यस्तै, गण्डकीमा नवलपुर, दमौली, स्याङजामा १÷१ र कास्कीको पोखरामा ३ वटा चार्जिङ स्टेसन रहनेछन् भने लुम्बिनीमा ८ वटा चार्जिङ स्टेसन रहने निर्माण हुने भएको छ । जसमा नेपालगञ्जमा १, दाङको भालुवाङमा २, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाटमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने भएका छन् । यस्तै, कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् ।

प्रतिक्रिया