कोभिडको जटिलतालाई दर्साउने एउटा फेसन शो (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १ बैशाख

काठमाडौं, १ बैशाख । परिमार्जन र परिवर्तन नै फेसनको आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको गर्दै नमूना कलेज अफ फेसन टेक्नोलजीको यसपालीको ग्राजुएसन फेसन शो आयोजना गरेको छ ।


चार वर्षे फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम परीक्षाअन्तर्गतको उक्त फेसन शोमा पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको थियो ।

हरेक पहिरनसित सुहाउँदो मास्कसहित मोडलहरु मञ्चमा उत्रिँदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको आभाष दिएको थियो ।

‘अस्तित्व’ शीर्षकमा सञ्चालन गरिएको फेसन शो नमूना कलेज अफ फेसन टेक्नोलोजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै कार्यक्रमको शुभारम्भ भएको थियो ।


कार्यक्रमअन्तर्गत ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ७९ जना नै थिए ।
उनीहरु नमूना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५ औं ब्याचका विद्यार्थी डिजाइनहरु थिए । हरेक पहिरन नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भिकता, निडरता, विनम्रता लगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुको कुनै एक वा एकभन्दा बढी पक्षमा आधारित थिए ।

कार्यक्रममा प्रदर्शित पहिरनहरुमार्फत एकैपटक एउटै मञ्चमा नारीको बोल्ड एण्ड ब्युटिफुल र ग्ल्यामरस छवि हुँदै शालीन, गम्भीर, दृढ निश्चयी, ममतामयी, शक्ति स्वरुपा छविलाई अवलोकन गर्न पाइएको थियो ।


होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा संचालन गरिएको उक्त फेसन शोमा समेटिएका ७९ वटा पहिरनहरुलाई आठ वटा विभिन्न सिक्वेन्समार्फत् प्रदर्शन गरिएका थिए । जसलाई २० जना युवती मोडलहरुले मनमोहन ढंगबाट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया