‘लकडाउनलाई सरकारले अन्तिम विकल्पका रुपमा मात्र प्रयोग गर्नेछ’
अखबार टुडे
प्रकाशित:
२०७८, १ बैशाख

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताबीच सरकारले असाधारण काम गरेको बताएका छन् । बुधबार नयाँ वर्ष २०७८ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौँ ।’ उनले केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको दावी गरे ।
प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको बताउँदै उनले सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गर्नेछ ।’
उनले भने, ‘कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाइएको छ । तर सरकार सकेसम्म लकडाउन चाहँदैन ।’ उनले भने, ‘विश्वका अन्य मुलुकहरु महामारी ह्वातै फैलिए लकडाउनको सहारा लिन बाध्य रहेका बताउँदै भने, ‘हामी अरु विधिबाट परिस्थिति बिग्रन नदिऔँ भन्ने चाहन्छौँ । मैले लकडाउन गर्ने धम्की दिए भनेर पनि भने । तर, परिस्थिति बिग्रिए मात्र सरकारले लकडाउन गर्छ भन्ने स्पष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आफू सुरक्षित, अरुलाई पनि सुरक्षित रहन अपिल समेत गरे ।

प्रतिक्रिया