प्रधानमन्त्री ओली आफ्नो कार्यालय र प्रतिनिधिसभा बैठकमा किन जान चाहँदैनन् ?
अखबार टुडे
प्रकाशित:
२०७७, ३० चैत्र

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कार्यालय मात्र होइन, प्रतिनिधिसभा बैठकमा समेत जाँदैनन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनी एकदमै कम जाने गरेका छन् ।
गत २०७६ फागुन २२ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली दुई पटकमात्रै सिंहदरबार गएका थिए । त्यसपछि कोरोना संक्रमण रोकथाम गर्न लकडाउन जारी भयो । पछिल्लो समय प्रधानमन्त्री ओली नयाँ कार्यालय अवलोकन र उद्घाटनमा पुगेका थिए । त्यसपछि फेरि कार्यालय गएका छैनन् । प्रधानमन्त्री कार्यालयको कामकाज उनले आफ्नो सरकारी निवास बालुवाटारबाटै गर्दै आएका छन् ।
पार्टीले आयोजना गर्ने प्रत्येक कार्यक्रममा सहभागी हुने तर बालुवाटारबाट करिब चार किलोमिटरको दूरीको रहेको सिंहदरबार उनी जाँदैनन् । प्रधानमन्त्री ओली आफ्नो कार्यालयमात्र होइन, पार्टी कार्यालय र प्रतिनिधिसभा बैठकमा समेत एकदमै कम जाने गरेका छन् । तर, एमालेको अध्यक्ष समेत रहेका ओलीले पार्टीको बैठक तथा छलफलसमेत बालुवाटारमै गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीका लागि प्रतिनिधिसभा बैठकको त टाडैको कुरा जस्तै भएको छ । उनी प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित भएका छन् । प्रतिनिधिसभाका पछिल्ला ९ वटा बैठकमा ओली उपस्थित छैनन् ।
सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन बदर गरिदिएपछि गत २३ फागुनमा प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो । उक्त दिन उनी संसद भवन नयाँ बानेश्वर त पुगे, तर बैठक सुरू हुनुअघि नै बाहिरिए । त्यसपछि पनि प्रतिनिधिसभाका कुनैपनि बैठकमा उनी गएका छैनन् । बरु उनले संसदीय दलको बैठकमै अधिवेशन अन्त्यको तयारी भइरहेको बताउन भ्याए ।
यसबीचमा प्रतिनिधिसभाका हरेक कार्यसूचीमा प्रधानमन्त्रीले पेश गर्नुपर्ने प्रतिवेदन पेश भइराखेका छन् । आजै सोमबार पनि प्रधानमन्त्रीले पेश गर्नुपर्ने राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानून मन्त्रीले प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकलाई विजनेशविहीन बनाइरहेको आरोप लगाएका छन् । यसरी प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा सहभागी नभएपनि किन भएनन् ? भन्ने न सांसदले प्रश्न उठाउने गरेका छन्, न त सभामुखले नै जानकारी दिने गरेको छ । प्रधानमन्त्री लगातार प्रतिनिधिसभा बैठकमा अनुपस्थिती भएपनि सांसदबी प्रश्न नउठ्नु आश्चार्यको विषय बनेको छ ।
सोमबारको बैठकमा बल्ल प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई विकासको कामको गफ प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै प्रतिनिधिसभा बैठकमै आउन चुनौती दिएका थिए । त्यसो त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा स्वयंम पनि बैठकमा कमै मात्र उपस्थित हुने गरेका छन् । उनी पहिलो बैठकमा उपस्थित भएका थिए । सरकारले ल्याएको अध्यादेशविरूद्ध रोष्टममा नाराबाजीका लागि समेत उनी उभिएका थिए । उनी पनि प्रतिनिधिसभामा गायब जस्तै छन् ।
नेकपा माओवादी केन्द्रको दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई नेताको तुलनामा धेरै बैठकमा सहभागी छन् । संसद ब्युँतिएको एक महिना बित्दासमेत कुनैपनि विधेयकले कानूनी हैसियत पाएको छैन । बैठक पासमात्र गरेपनि कानून बन्न सक्ने विधेयकमा समेत सरकारले चासो दिइरहेको छैन ।
बरू सत्तारूढ नेकपा एमालेले पछिल्लो समय प्रतिनिधिसभा अन्तर्गतका समितिमा ध्यान केन्द्रित गरेको छ । उसले समितिमा सांसदहरू हेरफेर गरेको छ ।
प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र गोकुल बाँस्कोटालाई लेखा समितिमा पठाएका छन् भने अर्का विश्वास पात्र महेश बस्नेतलाई राज्य व्यवस्था समितिमा पठाएका छन् । तर, प्रधानमन्त्री ओली प्रतिनिधिसभाको तीन वर्षको कार्यकाल बितिसक्दा समेत कुनैपनि समितिको बैठकमा उपस्थित भएका छैनन् ।
प्रधानमन्त्री ओलीले संसद बैठक सञ्चालनका लागि सभामुखले परामर्श गर्ने समितिमा समेत आफ्ना विश्वासप्राप्त सांसदलाई राखेका छन् । समितिमा खगराज अधिकारी, शेरबहादुर तामाङ र कृष्णभक्त पोखरेल परेका छन् ।

प्रतिक्रिया