सर्वोच्चको न्यायाधीश बन्न सुवेदी योग्य : सर्वोच्च अदालत
अखबार टुडे
प्रकाशित:
२०७७, ३० चैत्र

काठमाडौं, ३० चैत । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला गरेको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस्तो फैसला गरेको हो ।
सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुवै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसलामा भनिएको छ ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्नेछ । तर, सुवेदीले राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिनमात्र काम गरेका थिए । त्यसपछि उनी उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । उच्च अदालतको मुख्य न्यायाधीश भई उनले ३ वर्ष २ महिना ३ दिन काम गरेका थिए ।
सर्वोच्चले मुख्य न्यायाधीश पदलाई राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिल्लो पद मानी सुवेदीको योग्यता पुगेको फैसला सुनाएको हो ।
फैसलामा भनिएको छ, ‘एउटै सेवामा राजपत्रांकित प्रथम श्रेणी सहसचिवस्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिष्टार र सो भन्दा माथिको मुख्य न्यायाधीश पदसम्मको नियमित रुपमा कार्य गरेको अनुभव उसको योग्यताभित्र नै पदर्छ । संविधानको धारा १२९ को उपधारा ५ को व्यवस्थालाई हेर्दा राजपत्रांकित प्रथम श्रेणी सहसचिव स्तरदेखि विशिष्ट श्रेणीको मुख्य रजिस्टारसम्म र सो भन्दा माथिल्लो पद मुख्य न्यायाधीशको अनुभव दुई अलग अलग क्षेत्रको भएको हुँदा एउटा क्षेत्रको पदको अनुभव अवधि अर्को क्षेत्रको अनुभवको अवधिमा जोड्न र गढाना गर्न मिल्दैन भन्ने भनाइ संविधानसम्मत देखिन आउँदैन ।’
गत २८ फागुनमा न्याय परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दिएका थिए ।

प्रतिक्रिया