सत्ता समीकरणको कुरा : ओलीतिरै ढल्किँदै जसपा !
अखबार टुडे
प्रकाशित:
२०७७, २९ चैत्र

काठमाडौं, २९ चैत । सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) केपी ओलीतिरै ढल्किने संकेत गरेका छ । जसपाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भवः नभएको निष्कर्ष निकालेको छ, जसले जसपा ओली नेतृत्वकै सरकारमा सामेल हुने संकेत दिएको हो ।
आइतबार बसेको जसपाको पदाधिकारी बैठकमा बहुसंख्यक सदस्यहरुले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निष्कर्षमा निकालेको हो । यसअघि शुक्रबार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो ।
माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको थियो ।
त्यसो त जसपाभित्रै दुईमत छ । मत विभाजन हुँदा पार्टीले ठोस निर्णय गर्न सकिरहेको छैन । यसैबेला आइतबारको बैठकले ओलीकै नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा बहुमत पदाधिकारी पुगेको स्रोतको भनाइ छ ।
अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत जसपाका बहुसंख्यक नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा रहेका स्रोतको भनाइ छ । अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।
यादव र डा. बावुराम भट्टराईलगायतका नेताहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्दापनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको विषयमा पहल गर्नुपर्ने बताउँदै आएका छन् । तर, जसपाले कतैपनि निर्णय लिन सकेको छ्रैन । स्रोतका दावीअनुसार जसपा ओलीतिरै जाने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया