युएईले घोषणा गर्यो अन्तरिक्षमा पठाउने दुई यात्रीको नाम
अखबार टुडे
प्रकाशित:
२०७७, २९ चैत्र

दुबई, २९ चैत (एपी) । संयुक्त अरब इमिरेट्स (युएई)ले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।
दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गर्नु भएको हो । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भने मोहम्मद अल–मुल्ला पुरुष छन् ।
सन् १९९३ मा जन्मिनु भएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत रहेका छन् । युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने छ । यदि अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् ।
यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेका थिए ।
अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गर्नु भएको थियो ।
सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए ।

प्रतिक्रिया