काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । शनिबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल ६ हजार ९४२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (महिला)का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निटकतम प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष (समावेशी)मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गरेका छन् ।
महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले तीन हजार ८६० मत र सुबोध गौतमले ८९९ मत प्राप्त गरेका छन् । सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी हुँदा रामकृष्ण ज्ञवालीले तीन हजार २१ मत, जन्मदेव जैशीले एक हजार १२७ र यम विरहीले ७५७ मत प्राप्त गर्नुभएको छ ।
सचिव (महिला)मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गर्नुभयो । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त गर्दा शाहीमान राईले तीन हजार २८९ र रामकुमार श्रेष्ठले एक हजार ११३ मत प्राप्त गरेका छन् ।
सचिव (मधेशी)मा दीपेन्द्र चौहानले पाँच हजार ६९६, स्वेता सिन्हाले चार हजार ४६१ र देवकुमार यादवले ६४७ मत प्राप्त गरे ।सचिव दलितमा हेमकर्ण विकले पाँच हजार ९५८ मत प्राप्त गर्दा मधु शाही चार हजार ६४६ मा सीमित भइन् । सचिव एशोसिएटमा पवन आचार्यले पाँच हजार ७३५, रामेश्वर कार्की दुई हजार ८००, राधेश्याम दाहाल ३४९ र विनय देवकोटाले २५७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा कलेन्द्र सेजुवालले पाँच हजार ६७८ मत पाउँदा कृष्ण गिरीले तीन हजार २७८, प्रकाश थापाले ६१८, माधव दुलालले एक हजार आठ मत पाए । लेखा समिति संयोजकमा लेखनाथ न्यौपानेले पाँच हजार ६८८, द्वारिकाप्रसाद काफ्लेले तीन हजार १९१ र लक्ष्मण कार्कीले एक हजार ७१४ मत पाए ।
सदस्य खुलामा छविलाल तिवारीले चार हजार ९०० मत र वासुदेव शर्माले पाँच हजार ९१ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै माधव पौडेल पाँच हजार ९४, रमेश खतिवडा चार हजार ६५९ र शिवराज खत्रीले चार हजार ३५९ मत प्राप्त गरी खुला सदस्यमा जित निकाल्न सफल भए ।
सदस्य (महिला) खस–आर्यमा सरिता तिम्सिनाले चार हजार ८९१, सदस्य (महिला) मधेशीमा ललिताकुमारी साहले पाँच हजार ७८६, सदस्य (महिला) आदिवासी जनजातिमा शान्ता आङबुहाङले पाँच हजार ५८८, सदस्य आदिवासी जनजातिमा भिसन राईले चार हजार ८६८ मत प्राप्त गर्दा आदिवासी जनजाति महिला सदस्यमा सन्चकुमारी लामा तामाङले पाँच हजार ५०२ मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन समितिले प्रकाशित गरेको विवरणअनुसार दलित सदस्यमा प्रकाश धौलाकोटीले ६ हजार ८२, दलित महिला सदस्यमा राधा नेपालीले पाँच हजार ७३४, मधेशी सदस्यमा सुभाषप्रसाद साहले चार हजार ६७८, मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्रले पाँच हजार ६६३, अपाङ्गता सदस्यमा नवीन रिजालले पाँच हजार १९२ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै अल्पसंख्यक सदस्यमा इफ्तार हसनले पाँच हजार १३९, प्रदेश नं १ को सदस्यमा अमर खड्का ८५९ र दीपेन्द्र रुम्दाली राईले ५०१ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रदेश नं २ मा केसी लामिछाने २७१ र शिव पुरीले ३१९ मत प्राप्त गरी जित निकाल्दा, वाग्मती प्रदेशमा ध्रवकुमार रावलले ६२५ र सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी भए । गण्डकी प्रदेशको सदस्यमा त्रिभुवन पौडेलले ६३८ र प्रदीप काफ्लेले ५५३ मत प्राप्त गरी विजयी भएका छन् ।
लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे ७९२ र सुशील पोखरेलले ६३६ मत प्राप्त गरी विजयी भए भने कर्णाली प्रदेश सदस्यमा दीपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंह ३३३ मत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तरसिंह विष्ट ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी विजयी भएका छन् ।
उपत्यका सदस्यमा शन्तराम बिडारीले एक हजार २०८ र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गर्दा, प्रतिष्ठान सदस्यमा मणि दाहाल ४९१ र रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
एशोसिएट सदस्यमा कृति भट्टराई २७४ र विकास कार्कीले ३०१ मत प्राप्त गरी जित निकालेका छन् भने लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी पाँच हजार ५३७ र देवी सापकोटाले पाँच हजार ४४३ मत प्राप्त गरी विजयी भएका छन् ।
अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।
विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले पत्रकारको साझा संस्थाका रूपमा रहेको महासंघको मर्यादालाई थप विस्तारित गर्ने दृढता व्यक्त गरेका छन् । महासंघको नयाँ नेतृत्व्का लागि यही चैत २५ गते निर्वाचन भएको थियो ।