कोरोना जोखिम : सीसीएमसीद्वारा विद्यालय तीन साता बन्द गर्न प्रस्ताव, नयाँ मापदण्ड जारी गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७७, २८ चैत्र

काठमाडौं, २८ चैत । सरकारले कोरोना संक्रमणको नयाँ प्रजातिबाट जोखिम बढेको भन्दै विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबारको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं, पोखरालगायतका सहर र केही विद्यालय तथा कलेजमा एसजिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)ले व्यवस्था गर्ने भएको छ ।
सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुललगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।
त्यस्तै, रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा विज्ञहरुलाई पनि बोलाएर सुझाव लिइएको र सबैका सुझावका आधारमा सिसिएमसीले अन्तिम प्रस्ताव तयार पारी मन्त्रिपरिषद बैठकमा पेश गरेपछि मात्र निर्णय हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जनाएका छन् ।
बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न र नयाँ प्रजातिको कोरोना भाइरसको जोखिमबाट जोगिन सबैलाई अपिल गरेको छ ।

बैठकमा उपस्थित कतिपय विज्ञले नाइट क्लब, सिनेमा घर, शैक्षिक संस्थाजस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सुझाव दिएका छन् । तर, सरकारले अहिले पूर्णरुपमा बन्द गर्ने वा नगर्ने निर्णय गरेको छैन । शहरी क्षेत्रका शैक्षिक संस्था भने कम्तिमा तीन साता बन्द गर्ने प्रस्ताव अघि बढाइएको छ ।

प्रतिक्रिया