नेपाल पत्रकार महासंघमा पोखरेल प्यानलको जित
अखबार टुडे
प्रकाशित:
२०७७, २८ चैत्र

काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न निर्वाचनको मतगणना सकिएको छ । शनिबार दिउँसो मतगणना सकिएसँगै महासंघले मत परिणाम घोषणाको तयारी गरेको छ ।
महासंघको २६औंँ निर्वाचनमा विपुल पोखरेलको प्यानलकै विजयी सुनिश्चित भएको छ । विजयी सुनिश्चित भएसँगै औपचारिक घोषणाअघि नै प्रेस युनियनले विजयोत्सव सुरु गरेको छ ।
देश संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो । यस्तै, गजेन्द्र सिंह बुढाथोकी अध्यक्षको प्रत्यासी रहेका थिए ।
महासंघका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् ।

प्रतिक्रिया