माओवादीको कारबाही : चार सांसद तथा मन्त्री पदमुक्त, बादलको पालो कहिले ?
अखबार टुडे
प्रकाशित:
२०७७, २६ चैत्र

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरु साबिकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री ओली केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गरेपछि पनि उनीहरु माओवादी केन्द्रमा फर्किएनन् । २८ फागुनमा एमाले अध्यक्ष ओलीले उनीहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
यसबारे माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ प्रभु साहले मात्र दिएका थिए । साहको जवाफ चित्तबुझ्दो नभएको र अरुले जवाफ नदिएको भन्दै माओवादी केन्द्रले उनीहरुलाई दलबाट निश्कासनको कारबाही गरेको थियो ।
संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चार सांसदले दल परित्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम गरिदिन संसद सचिवालयलाई पत्र पठाएको थियो ।
सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावलीको नियम २१२ को उपनियम १ बमोजिम चार जना सांसद पदमुक्त भएको घोषणा गरे । पदमुक्त भएका चारै जना प्रत्यक्ष निर्वाचित सांसद थिए ।
प्रतिनिधिसभा सदस्य पदबाट पदमुक्त भएसँगै चारै जनाको मन्त्री पद पनि गएको छ । भट्ट ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए भने साविकको नेकपा विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रायमाझी, साह र चौधरी १० पुस २०७७ मा मन्त्री बनेका थिए ।
रायमाझी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ, साह शहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए । उनीहरु संविधानको धारा ७६ (९) अनुसार मन्त्री नियुक्त भएका थिए । धारा ७६ (९) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गर्नेछ ।’
बादलको पालो कहिले ?
नेकपा माओवादीले आफ्ना चार जना नेता तथा सांसदलाई कारबाही गरेपनि रामबहादुर थापा ‘बादल’लाई भने कारबाही गरेको छैन । थापा माओवादी परित्याग गरेर एमाले ओली पक्षमा लागेका छन् । उनी हाल ओली नेतृत्वको गृकमन्त्री रहेका छन् । तर, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई कारबाही गर्न सकेका छैनन् ।
माओवादीले आफ्ना चार नेता तथा सांसद रायमाझी, भट्ट, साह र चौधरीलाई कारबाही गरी पदबाट पदमुक्त गरेपनिमाओवादीकै तर्फबाट गृहमन्त्री बनेका थापालाई भने अहिलेसम्म कारबाही गरेको छैन । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछन् । साथै, सांसद पद खारेज भएपछि मन्त्री पदसमेत जाने भएको व्यवस्था छ ।

प्रतिक्रिया