‘टलटल टल्किने’ यस्तो छ अनिलाको करोड खुसी (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २६ चैत्र

काठमाडौं, २६ चैत । गायिका अनिला राई आफूले गाएको ‘टलटल टल्किने’ बोलको गीत तथा भिडियोले करोडभन्दा बढी भ्युअर्स पाएपछि खुसी भएकी छन् । पछिल्लो समय शोसल मिडिया ‘टिकटक’मा समेत चर्चित भइरहेको उक्त गीतको भिडियो यु–ट्युबमा एक करोडभन्दा बढी भ्युअर्स पाएको हो ।
नयाँ एल्बमको समेत तयारी गरिरहेकी अनिलाले भनिन्, ‘एल्बमको तयारी गरिरहेकै बेला ‘टलटल टल्किने’ गीतले करोडभन्दा बढी भ्युअर्स पाएको छ । दर्शक तथा श्रोताको यो मायाले खुसी लागेको छ ।’

अनिला राई, गायिका

,
हुन पनि आफ्नो गीत करोडभन्दा बढीले रुचाइदिँदा खुसी नहुने को नै छ र ? नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईले त यस खुसीयालीमा ‘सेलिब्रेसन’ नै गरे । नेपाली फिल्म ‘विरविक्रम’को यस गीतमा गायिका अनिला राई र राजेशपायलको युगल स्वर छ । प्रचारको कुनै प्रक्रियाविनै एउटा नेपाली गीतले एक करोडभन्दा बढी भ्युअर्स पाउनु आफैँमा खुसी कुरा पनि हो । यस गीतलाई खाशै प्रमोसन गरिएको थिए । गीतको मौलिकता र स्वरकै कारण दर्शक तथा श्रोताले रुचाएका छन् । यस गीतको भिडियोलाई यो समाचार तयार पारिरहँदा एक करोड १२ लाख चार हजार ४५० को हाराहारीले हेरिसकेका छन् ।
करिब डेढ दशकदेखि बेलायतमा बस्दै आएकी गायिका अनिलाले त्यहाँ ससेर पनि नेपाली गीतसंगीतलाई निरन्तर अँगाल्दै आएकी छन् । उनले अहिलेसम्म सयौँ गीतमा स्वर दिइसकेकी छन् ।
लोकदेखि आधुनिक र चलचित्र गीतसम्म गाउँदै आएकी अनिलाका गीतहरु दर्शक तथा श्रोताले पनि रुचाएका छन् । यसैक्रममा ‘टलटल टल्किने’ गीत करोड क्लवमा प्रवेश गरेको हो । यस खुसीयालीमा गायिका अनिलाले भनिन्, ‘ढिलै भएपनि दर्शक तथा श्रोताको माया पाएकी छु । यसले मलाई अझै धेरै हौसला र प्रोत्साहन मिलेको छ ।’
पछिल्लो समय ‘स्वरांकन’ नामक एल्बम निकालेर चर्चा आएकी अनिलाले केही महिनापछि नयाँ एल्बम ल्याउन लागेको बताइन् । बेलायतको व्यस्त जीवनका बावजुद पनि अनिला एल्बम गर्ने बेलामा नेपाल आउने गरेकी छन् । ‘स्वरांकन’ उनले नेपालमै आएर गरेकी हुन् ।
यसपटक एल्बम ल्याउने मनशाय नभएपनि आफ्नै शब्दरचना भएकाले गर्न लागेको बताइन् । उनले भनिन्, ‘मलाई एल्बम नै गर्ने मन त थिएन, तर आफ्नै शब्द भएकाले एल्बम नै गर्न लागेकी हुँ ।’ अनिलाका ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘तिमी बाहेक’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीत चर्चित छन् ।

प्रतिक्रिया