संसारकै धनीका कुरा : तिनका सम्पती कति ?
अखबार टुडे
प्रकाशित:
२०७७, २५ चैत्र

काठमाडौं, २५ चैत । फोब्र्स म्यागजिनले यसको धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष पनि अमेजन मालिक जेफ बेजोस सूचीको एक नम्बरमा छन् ।
फोब्र्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए ।
यस्तै, रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ ।
फोब्र्सको ३५औँ वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् । सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
वारेन बफेट छैठौँ, ल्यारी एलिसन सातौँ, गुगल मालिक ल्यारी पेज आठौँ, गुगलकै सर्जी ब्रिन नवौँ र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौँ स्थानमा छन् ।
अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् । सूचीमा रहेका एकमात्र नेपाली विनोद चौधरीको स्थान खस्किएको छ । उनी गत वर्ष १५१३ स्थानमा रहेकोमा यसपटक २१४१औँ स्थानमा ओर्लिएका छन् ।

प्रतिक्रिया