माओवादीले सोध्यो बोहोरालाई २४ घण्टे स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०७७, २५ चैत्र


धनगढी, २५ चैत । नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।
माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहोरालाई २४ घण्टाभित्र जवाफ माग्दै बुधबार स्पष्टीकरण सोधेका हुन् ।
‘सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टी एकीकरण नभई पूर्ववत् अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) साविककै पार्टी रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाशीलता नेकपा (एमाले) पार्टीमा देखिएको र एमालेको केन्द्रीय सदस्यसमेत नियुक्ति भएको देखिएकोले,’ माओवादी केन्द्रले बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ’राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?’

स्पष्टीकरण सोधिएको २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न बोहोरालाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया