नेपाल खबर

कोरोनाको दोस्रोे वेभ : उपत्यका प्रवेशमा कडाइ, स्वास्थ्यमन्त्री भन्छन्, ‘संक्रमण उच्च विन्दुमा पुग्न सक्छ’

काठमाडौं, २३ चैत । कोरोना संक्रमित बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी)को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए वा शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।
यसअघि सबै महानगर–नगरपालिकाहरूमा सञ्चालित आईसोलेशन केन्द्र र क्वारेनटाइनहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिकाभित्र कम्तिमा १–१ वटा आईसोलेशन तथा क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।
उच्च बिन्दुमा पुग्न सक्छ
यतै, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमा दुई वेभमा कोरोना संक्रमण आएको बताएका छन् ।
प्रतिनिधिसभा सभा बैठकमा बोल्दै उनले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातोदखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण कात्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे ।
त्यसपछि संक्रमण घट्दै गएर माघको पहिलो सातादेखि निकै कम हुँदै गएकोमा दोस्रो वेभको रुपमा हालका दिनमा फेरि संक्रमित थपिँदै गएको बताए । उनले अबको दिनमा जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी बनाउन नसकिए संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुमा पुग्न सक्ने बताए ।
छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top