एसिड खरिद-बिक्रीमा कडाइ : अब गृह मन्त्रालयको स्वीकृति अनिवार्य
अखबार टुडे
प्रकाशित:
२०७७, २२ चैत्र

काठमाडौं, २२ चैत । एसिड आक्रमणका घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले एसिड खरिद विक्रीमा कडाइ गरेको छ । अब कुनैपनि उद्योग–व्यवसायीले गृह मन्त्रालयबाट अनुमति नलिइ एसिड खरिद गर्न पाउने छैनन् । गृह मन्त्रालयले आइतबार सूचना जारी गरी यसबारे जानकारी गराएको हो ।
सूचनाअनुसार कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनको लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधिपूर्वक निवदेन दिनुपर्ने छ ।
यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा विक्री गर्न सक्थे । एसिड खरिद बिक्रिमा खुकुलो हुँदा महिलामाथि एसिड आक्रमणका घटना बढ्न थालेपछि सरकारले गत १२ असोजमा एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रण सम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेश बमोजिम एक हप्ताअगाडि नियमावली जारी भएको छ ।
नियमावलीअनुसार अब एसिड खरिद वा विक्री गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्नेछ । कसैले विदेशबाट आयात गर्नु परेमा मन्त्रालयबाट अनुमति लिनुपर्छ । एउटै जिल्लाभित्र आवश्यकताअनुसार खरीदबिक्री गर्न प्रमुख जिल्ला अधिकारीले स्वीकृति दिने व्यवस्था छ ।
तर, उद्योगधन्दालाई लाइसेन्स आवश्यक पर्ने छैन । उद्योगले आफूलाई चाहिएको परिमाण खुलाएर गृह मन्त्रालयमा निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मन्त्रालयले ‘भेरिफाइ’ गरेर राजपत्रमा सूचना प्रकाशित गरिनेछ ।
यसरी राजपत्रमा सूचना आइसकेपछि उद्योगले लाइसेन्स लिनु नपरे पनि प्रत्यकपटक खरिद गर्न नयाँ निवेदन दिनुपर्नेछ । मन्त्रालयले व्यापारिक प्रतिष्ठानको हकमा नयाँ सूचना जारी गर्ने तयारी गरिएको गृह मन्त्रालयको नीति योजना अनुगमन महाशाखाका सहसचिव नाराणप्रसाद भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया