उल्झनमा ओली : प्रधानमन्त्रीको राजीनामा कि पुनः प्रतिनिधिसभा विघटन ?
अखबार टुडे
प्रकाशित:
२०७७, २१ चैत्र


काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर निकै अप्ठ्यारोमा छन् । उनकै अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ कि अब कसरी अगाडि बढ्ने ?
नेकपा एमालेभित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि उनी अप्ठ्यारोमा परेका हुन् । एमालेभित्रको अन्तरविरोध चरम उत्कर्षमा पुगेकाले पनि अब पार्टीको अध्यक्षसमेत रहेका ओलीले दुई वटा विकल्प रोज्नुपर्नेछ । एउटा विकल्पको हो, पुनः पुस ५ निम्ताउँने । संसदीय अंकगणित आफ्नो पक्षमा नभएपछि उनले प्रतिनिधिसभा विघटन एउटा विकल्पमा रुपमा लिन सक्छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले संकेत समेत गरेका छन्
प्रधानमन्त्रीबाट राजीनामा दिन अनिच्छुक रहेपनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका छन् । यतिखेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको राजीनामा चाहेको छ । त्यसका लागि कांग्रेसले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओली फेरि ५ पुसकै अवस्थामा जानेबाहेक अरु विकल्प छैन ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न निर्वाचन क्षेत्रको सडक उद्घाटन कार्यक्रममा ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताएका थिए ।
एकातिर प्रतिपक्षीको दबाव बढ्दै जानु, सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको तयारी गर्नु र एमालेकै एउटा पक्ष सरकारविरुद्ध चर्को रुपमा उत्रनुले प्रधानमन्त्री ओलीसँग प्रतिनिधिसभा विघटनभन्दा अरु विकल्प देखिँदैन ।
प्रधानमन्त्री ओली पनि यसै मेसोको तयारी लागेका छन् भन्ने शनिबार स्पष्ट पारेका छन् । उनले भने, ‘संसद यस्तै हो । संसद कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन् ।’ उनले थपे, ‘मेरो विचारमा फेरि पनि ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितविना देश अगाडि ‘स्मुथ्ली’ जानै सक्दैन । त्यसकारण फेरि पनि हामीले ताजा जनादेशमा जानुपर्ने हुन्छ ।’
संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ । प्रधानमन्त्री ओलीको भनाइअनुसार ‘त्यसलाई (संसदलाई) भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकताविपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’
दुईवटा अवस्थामा चुनावमा जानुपर्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ । ‘कतिबेर चुनाव हुनुपर्छ भन्दा एउटा त आवधिक निर्वाचन र लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ’ प्रधानमन्त्री ओलीले शनिबार भने, ‘अर्को, यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंकगणित भन्दा माथिको कुरा हो ।’ विगतमा अंकगणितले साथ नदिएको हुनाले संसद विघटन गर्नुपरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘देशको आवश्यकता, विकासको आवश्यकता, विकासको आकांक्षा अंकगणितका लागि छोड्ने कि देश र जनताको आवश्यकताका लागि अंकगणित परिवर्तन गर्ने ? यो त जनताले फैसला गर्ने कुरा हो । त्यसकारण जनतामा त्यस्तो अवस्थामा जानुपर्छ । हामीले गरेको विघटन त्यही अर्थमा हो ।’
संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्न नसक्ने ओलीको उनको छ । ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन’ उनले भने, ‘संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल भइरहेको छ र अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ भने त्यस्ता अवस्थामा संसदीय अंकगणितको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।’
संसद विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जब राष्ट्रिय आकांक्षासँग अंकगणितले तादात्म्यता राखेन, हामीले तादात्म्यता राख्न कोसिस ग¥यौँं, भएन । तब जनादेशमा जानुपथ्र्यो ।’
प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता गरेपछि आफ्नो राजीनामा आइहाल्ने बताए । उनले भने, ‘राजीनामा माग्या छ माग्या छ । मागैपिच्छे म कसरी दिन सक्छु भनेको ! एउटाले माग्दैन, दुईटाले माग्दैन । एकदिन माग्दैन, दुईदिन माग्दैन । दिनैपिच्छे एक–एकवटाले राजीनामा माग्छ । पहिले समर्थन फिर्ता गर अनि राजीनामा आइहाल्छ ।’

प्रतिक्रिया