प्रधानमन्त्रीद्वारा रणनीतिक सडक सञ्जाल निर्माणको घोषणा (यस्तो छ योजनाको खाका)
अखबार टुडे
प्रकाशित:
२०७७, २१ चैत्र

काठमाडौं २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निर्वाचन क्षेत्रमा एउटा–एउटा गरी १६५ वटा सडकको शनिबार एकैपटक घोषणा गरेका छन् । बालुवाटारमा आयोजित सडक सञ्जाल शुभारम्भ बोल्दै उनले ती सडक तीन वर्षभित्र पूरा हुनेसमेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सडक निर्माणको काम तीव्रताका साथ सम्पन्न गर्ने बताउँदै भने, ‘हाम्रा काम प्रायः समयमा नहुने गरेको छ । त्यसलाई अन्त्य गर्नुपर्छ । हामी यो काम तीव्रताका साथ अनि गुणस्तरीय ढंगबाट भएको हेर्न चाहन्छौँ ।’
शनिबार शुभारम्भ गरिएको सडकहरु सम्बन्धि निर्वाचन क्षेत्रका सांसदहरुले छानेका योजनाहरु भएको बताइएको छ । निश्चित मापदण्डमा परेका र सांसदहरूले छानेका सडकहरूलाई सडक विभागको सिफारिसमा विस्तृत योजनामा पारिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए ।
निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डहरूमा संघीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल÷सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थलहरूलाई जोड्नेजस्ता विषय परेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले बताएका छन् । उनका अनुसार यसरी निर्माण गरिने सडकको कूल लम्बाई लगभग २ हजार २१० किलोमिटर हुनेछ ।
मन्त्री नेम्वाङका अनुसार यी सडक निर्माणका निम्ति करिब ५७ अर्ब १० करोड रुपैयाँ खर्च हुनेछ । प्रत्येक सडक दुई लेनको र कालोपत्रे गरिएको हुनेछ । यी सबै सडक आगामी तीन आर्थिक वर्षभित्र सम्पन्न भइसक्ने उनले बताए ।
सडक निर्माण शुभारम्भको कार्यक्रममा दिइएको जानकारीअनुसार एउटा निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाहरूमा ६० करोड रुपैयाँ छुट्ट्याइनेछ भने एउटा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा ५० करोड रुपैयाँ छुट्ट्याइनेछ ।
दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाहरूमा ४० करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्र अनि तीन वा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाहरूमा २५ करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्रको दरमा छुट्ट्याइने जनाइएको छ ।

प्रतिक्रिया