काठमाडौं, २१ चैच । नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आज शनिबार संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्दैछ । यो समूहले आज बस्ने राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने तयारी गरेको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।
नेता योगेश भट्टराईका अनुसार आज बस्ने भेलाले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानलाई अन्तिम रुप दिनेछ । उनका अनुसार बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ ।
शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधानविपरीत र पूर्वाग्रही भएको निष्कर्ष निकाल्दै उक्त कारबाहीले केपी ओलीले एमालेलाई विभाजित गर्न उद्यत रहेको पुष्टि गरेको समूहको निष्कर्ष छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि १६ चैतमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।