अवरोध हट्यो : उपत्यकामा ८ दिनपछि बल्ल फोहर उठ्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २० चैत्र

काठमाडौं, २० चैत । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि शुक्रबार आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ ।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो ।
लामो समयको अवरोधपछि शुक्रबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उनीहरु सहमती भएको हो ।
प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए । स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गरेका छन् ।
धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे । छलफलमा सहभागी ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईँले आफूहरुको माग पूरा भएपछि फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिए ।
उनले भने, ‘प्रभावित क्षेत्रका ५१ शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउनेलगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ । अब आजैबाट फोहोर उठ्न थाल्छ ।’
विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुँदै आएको छ । सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिरहेको भए पनि निर्माण कार्य पूरा नहुँदा पटकपटक समस्या आइरहेको छ ।

प्रतिक्रिया