कांग्रेस सह-महामन्त्री थापाको भागमा १० हजार क्रियाशील सदस्य
अखबार टुडे
प्रकाशित:
२०७७, २० चैत्र

काठमाडौं, २० चैत । नेपाली कांग्रेसले सह–महामन्त्री सुनिल थापा समूहलाई पार्टीले ४८ जिल्लाका लागि १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने भएको छ ।
काग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच ४८ जिल्लामा नेपाली काँग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति दुवै पक्षबीच जुटेको हो ।
राप्रपा परित्याग गरी गत भदौमा थापा समूह नेपाली काँग्रेस प्रवेश गरेको थियो । उनीहरुको व्यवस्थापनका लागि देउवा–पौडेलबीच सहमति जुटेको छ ।
यस्तै अधिवेशन सम्बन्धि कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता केन्द्रमा पठाउने मिति हेरफेरको हुने भएको छ । चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा तोकिएकोमा अब वैशाख पहिलो सातासम्म समय थप्ने विषयमा देउवा–पौडेलबीच सहमति भएको छ ।
केन्द्रीय कार्य समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेस गर्नेछन् । आगामी महाधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको थियो । बैकल्पिक सरकारबारे पार्टीले निर्णय लिनुपर्नेमा पौडेलको जोड छ ।

प्रतिक्रिया