राष्ट्र बैंकले सुन आयातमा कोटा बढायो : दैनिक कति आयात गर्न पाउँछ ?
अखबार टुडे
प्रकाशित:
२०७७, १९ चैत्र

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ । यससँगै अब दैनिक २० किलो सुन आयात गर्न पाउने छ ।
सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । कोरोना महामारीका कारण गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो ।
तर, अहिले आएर पुनः सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशोधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पु¥याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ ।
यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो । सुनको कोटा बढाउने राष्ट्र बैंकको निर्णयप्रति सुनचाँदी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।
आफूहरुले माग गरेकोभन्दा कम मात्रामा आयात परिमाण बढाइएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । महासंघले दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग सरकारसमक्ष राख्दै आएको छ ।

प्रतिक्रिया