काठमाडौं, १९ चैत । यही २२ र २३ अप्रिलमा अमेरिकी हुने जलवायु परिवर्तनसम्बन्धी विश्वका नेताहरुको शिखर सम्मेलन हुँदैछ । अमेरिकी राष्ट्रपति राष्ट्रपति जो बाइडनले आयोजना उक्त सम्मेलनमा ४० देशका सरकार र राष्ट्र प्रमुखहरुलाई निम्तो पठाइएको छ ।
दक्षिण एसियाबाट भारत, भुटान र बंगलादेशलाई आमन्त्रण गरिएको छ । भर्चुअल माध्यमबाट हुने सो सम्मेलनको सामाजिक सन्जालमार्फत् प्रत्यक्ष प्रसारण हुनेछ ।
ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री लोत्ते छिरिङ सो सम्मेलनमा सहभागी हुँदैछन् ।
यस्तै, चीनका राष्ट्रपति सी चिनफिङ पनि सो कार्यक्रममा सहभागी हुने भएका छन् । तर, नेपाललाई भने सो शिखर सम्मेलनको निम्तो दिइएको छैन । भारत, भुटान र बंगलादेशबाहेक अन्य मुलुकले पनि निम्तो पाएका छैनन् ।
जलवायु परिवर्तन सम्बन्धी हरेक मुद्दामा नेपाल जोडिएको छ भने पछिल्लो समय जलवायु परिवर्तन सम्बन्धी कतिपय मुद्दामा नेतृत्व समेत लिएको छ । सो शिखर सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको सम्बन्धमा सोधिएको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची आलेनले अहिले हुन लागेको सम्मेलन कोप–२६ भन्दा अगाडि हुन लागेका विभिन्न कार्यक्रममध्ये एक भएको बताइन् ।
ह्वाइट हाउसले सो सम्मेलनमा सहभागी हुने ४० वटा देशका प्रतिनिधिहरुको नाम समेत सार्वजनिक गरेको छ । त्यसमा नेपाल परेको छैन । यस अगाडि नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालले गर्न लागेको सगरमाथा संवादका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विश्वका नेताहरुको सो सम्मेलनमा जलवायु परिवर्तनको विषयमा बलियो नेतृत्व लिएका मुलुक, जलवायु परिवर्तनको हिसाबले एकदमै संवेदनशील अबस्थामा रहेका मुलुकहरु र जलवायु परिवर्तनको असर कम गर्न नयाँ कदम चालेका मुलुकहरुलाई आमन्त्रण गरिएको हो ।
केही व्यापारी र नागरिक समाजका व्यक्तिहरुसमेत सो सम्मेलनमा सहभागी हुने छन् । यतिवेला विश्वको ध्यान विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा राख्नेमा छ । अमेरिकाले गर्न लागेको सम्मेलन र कोप–२६ को मूल उद्देश्य पनि यही हो ।