सत्ता समीकरण : दुई पक्षमा विभाजित जसपा न यता, न उता !
अखबार टुडे
प्रकाशित:
२०७७, १८ चैत्र

काठमाडौं, १८ चैत । नयाँ सरकार गठनका लागि चाबी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) अहिलेसम्म कतै खुलेको छैन । न यता, न उता, सत्ता समीकरणमा विभिन्न माग र शर्त राख्दै आएको जसपाले आखिर कसलाई साथ देला ? यो प्रश्नको जवाफ जसपाकै नेताहरुसँग पनि छैन ।
प्रतिनिधिसभा पुर्नस्थापना भएयता सत्ता साझेदारीका लागि बार्गेनिङ गर्दै आएको जसपामा ओलीलाई साथ दिएर जाने कि नेकपा माओवादी केन्द्रलाई भन्नेमा दुईमत रहँदै आएको छ । त्यसैले पनि पछिल्लो राजनीतिक घटनाक्रममा जसपा सत्ता साझेदारीको निर्णायक भूमिकामा बसेर बार्गेनिङ गर्दै आएको छ ।
यसैक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने अग्रसरता लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवा निवास बुढानिलकण्ठ पुगेका अध्यक्ष यादवले पछिल्लो राजनीतिबारे देउवासँग छलफल गरेको स्रोतको भनाइ छ । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँगै सहकार्यको पक्षमा उभिएका बेला यादवले देउवासँग भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
जसपाभित्र यादव र डा.बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन् । यद्यपि, पार्टीभित्र ठाकुरको पक्षमा बहुमत रहेको छ ।
कांग्रेस सभापति देउवासँगको भेटमा अध्यक्ष यादवले राजनीतिक अग्रसरता बढाउन आग्रह गरेका छन् । तर, सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको बताउँदै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको बताएको जसपाकै एक नेतालो बताए ।
यसअघि यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि आफूहरु ओलीको विकल्प खोज्ने पक्षमा रहेको बताएका थिए । ‘अहिलेको सरकार हटाउन पहल गरौँ । कांग्रेसकै नेतृत्वमा अगाडि बढौं’, यादवको प्रस्ताव थियो । जवाफमा देउवाले जसपाले ओलीसँग नमिल्ने औपचारिक निर्णय नगरेसम्म आफू अगाडि नबढ्ने बताएका थिए ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेस सभापति देउवालाई भेटेर वैकल्पिक सरकार गठनका लागि अग्रसरता लिन आग्रह गरेका थिए । तर, सो भेटमा सभापति देउवाले नयाँ सरकार गठनका लागि परिस्थिति नबनेको बताएका थिए ।

प्रतिक्रिया