एमाले विवाद : नेपाल र रावलद्वारा कारबाही ‘अस्वीकार्य’
अखबार टुडे
प्रकाशित:
२०७७, १७ चैत्र

काठमाडौं, १७ चैत । नेकपा एमालेको नेपाल पक्षले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना पार्टीबाट निलम्बन गर्ने कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने नेपाल पक्षको निष्कर्ष छ ।
अध्यक्ष ओलीले नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार बसेको नेपाल पक्षको ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको हो ।
‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यको हामी भत्र्सना गर्दर्छौं ।’
अध्यक्ष ओली आफैँ पार्टी विधानविपरित चलेको भन्दै नेपाल समूहले गरेको कारबाही नमान्ने बताएको छ । ‘हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौँ किनकी उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन् ।

प्रतिक्रिया