थरुहट-सरकार पहिलो चरणको वार्ता : ‘सरकार सकरात्मक’
अखबार टुडे
प्रकाशित:
२०७७, १७ चैत्र

काठमाडौं, १७ चैत । सांसद रेशम चौधरीको रिहाइलगायत विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र सरकारबीच वार्ता सुरु भएको छ ।
मंगलबार सुरु भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्व प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्वसासंद भगवती चौधरी सदस्य रहेका छन् ।
यस्तै, थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको वार्ता टोलीमा रहेका छन् ।
२०७२ भदौमा टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेलगायत १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।
स्रोतका अनुसार हाल जेलमा रहेका सांसद चौधरीको रिहाइलाई वार्ताको मुख्य एजेण्डा बनाइएको छ । त्यसमा सरकार पक्षले पनि लचकता देखाएको बताइएको छ । स्रोतले भन्यो, ‘पहिलो चरणको वार्ता सकरात्मक भएको छ ।’
जसपाले पनि सत्ता समीकरणका लागि सांसद चौधरीको निर्शत रिहाइलाई बटमलाइन बनाउँदै आएको छ । जसपाले आफ्ना माग जसले सम्बोधन गर्छ, यसैसँग सत्ता साझेदारी गर्ने बताउँदै आएको छ । तर, अहिले पनि स्पष्ट खुलेको छैन । तर, प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँग सत्ता साझेदारी चाहेको यसअघि नै बताइसकेका छन् । त्यसैले पनि सरकार थरुहटको मागप्रति सकरात्मकरुपमा प्रस्तुत भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया