म्यान्मार सैनिक क्रुरता : नागरिकले आन्दोलनको स्वरुप फेरे, सडकमा फोहोर फालेर ‘कू’को विरोध
अखबार टुडे
प्रकाशित:
२०७७, १७ चैत्र

काठमाडौं, १७ चैत । म्यान्मारमा सैन्य कूविरुद्ध आन्दोलनरत नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेको ।
बीबीसीका अनुसार प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत १ फेबु्रअरीमा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ ।


आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ ।
सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
आन्दोलनकारीहरुले सडकमा राखेका बालुवा भरिएका बोराहरु सेनाले विशेष प्रकारको हतियार प्रयोग गरी हटाउने गरेको छ । सरकारी टेलिभिजनले ‘रोयट विपन’को प्रयोग गरिएको उल्लेख गरे पनि बीबीसीले भने ती हतियार कस्ता प्रकारका हुन् भन्ने स्पष्ट नभएको जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शनमा दमन नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया