नेपाल खबर

मलाई कारबाही गर्ने ओली को हो ? : नेता नेपाल

काठमाडौं, १६ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको दावी गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले नेपाल र उपाध्यक्ष भीम रावललाई साधरण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आफूलाई हटाउने अधिकार ओलीसँग नभएको बताएका हुन् ।
नेता नेपालले भने, ‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन । कुन पार्टीबाट ओलीले मलाई हटाए ?’ नेता नेपालले केन्द्रीय कमिटि नै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनुको अर्थ नरहेको बताए । ‘नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले हटाइसकेको छ, उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो’, नेपालले भने, ‘एउटा गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न सक्दैन, त्यसकारण यो कारबाही वा निलम्बनको कुनै अर्थ छैन ।’
केही दिनअघि मात्र नेता नेपालसहित चारजनालाई गुटबन्दी गरेको भन्दै ओलीले स्पष्टिकरण सोधेको थियो । नेता नेपाल र रावलले उक्त स्पष्टिकरणको जवाफ दिएका थिए । तर, अध्यक्ष ओलीले जवाफ चित्त बुझ्दो नभएको भन्दै कारबाही गर्ने संकेत गरेका थिए ।
कारबाहीस्वरुप नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको हो । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष ओलीले पठाएका थिए ।
‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top