जताततै डढेलो : वायुप्रदुषणले स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सावधान हुन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, १४ चैत्र

काठमाडौं, १४ चैत । पछिल्लो केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकाले सतर्क रहन विज्ञहरूले चेतावनी दिएका छन् ।
डढेलोका कारण काठमाडौं वायुप्रदूषण बढेको छ । र, त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने विज्ञहरुले चेतावनी पनि दिएको छ ।
यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताएका छन् ।
साता दिनमा पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जंगलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने उनले बताए ।
नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ । विभागको अनुगमन प्रणालीका अनुसार शुक्रबार ४७ जिल्लाका ५०० भन्दा बढी स्थानमा डढेलो लागेको थियो ।
डढेलाका कारण पनि वायुप्रदुषणलाई थप हैसे पुर्याएको छ । अधिक मात्रामा वायुप्रदुषणका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको छ । शुक्रबार दुई बजेयता प्रभावित बनेको उडान शनिबार पनि प्रभावित बन्यो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ ।
अहिले काठमाडौं उपत्यकामा बढेको वायुप्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन् ।
उपत्यकामा बढिरहेको वायुप्रदूषणको मात्रा शुक्रबार एकाएक उच्च तहमा पुगेको थियो । शनिबार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ ।
उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायुप्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा संक्रमण हुनसक्ने भन्दै सजग हुन आग्रह गरेको छ ।

प्रतिक्रिया