काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।
शनिबार बृहत नागरिक आन्दोलनले काठमाडौंमा आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अब एक दुई दिनमै समर्थन फिर्ता हुन्छ ।’
अध्यक्ष प्रचण्डले केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै भने, ‘अबको राजनीति जतासुकै गएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिइन्छ ।’
उनले थपे, ‘मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस्, मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’
अहिलेको राजनीतिक संकटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको उनको भनाइ थियो ।
‘मेरो कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु, जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौँं, ती राजनीतिक दलहरू बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस्’ उनले भने ।