अलविदा नवीन्द्रराज जोशी
अखबार टुडे
प्रकाशित:
२०७७, १४ चैत्र

काठमाडौं, १४ चैत । शुक्रबार निधन भएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि गर्नुअघि दिवंगत जोशीको वार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेसको केन्द्रीय पार्टी सानेपामा राखिएको थियो ।
श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीरलाई शनिबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिएको थियो । श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङलगायतका नेता तथा शुभचिन्तक सानेपा पुगेका थिए ।

यस्तै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितका मन्त्रीहरु, सांसद, कांग्रेस नेता तथा कार्यकर्ता र आफन्त पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । मष्तिष्क घातका कारण निधन भएका जोशी इमान्दार र निष्ठावान नेताका रुपमा चिनिन्थे ।
करिब तीन बजेतिर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जोशीलाई श्रद्धाञ्जली दिन सानेपा पुगे । उनी त्यहाँ पुग्दा काँग्रेसका अधिकांश नेता सानेपाबाट बाहिरिसकेका थिए । जोशीको शव भने त्यहीँ थियो । उपत्यका नजिकैका कार्यकर्ताहरु ४ बजेसम्म सानेपा आइरहेका थिए ।
बेलुका चार बजेपछिमात्र अन्त्येष्टिका लागि जोशीको शव आर्यघाट लगिएको थियो । महामन्त्री शशांक कोइरालालगायतका नेताहरु आर्यघाट पुगेका थिए । पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने आर्यघाटमा देखिएनन् । उपत्यका बाहिर रहेका नेता पौडेल मौसमको खराबीका कारण काठमाडौं आउन नसकेको बताइएको छ ।
आर्यघाटमा पनि नेता, कार्यकर्ता शुभेच्छुकको ठूलो भीड थियो । साँझ ६ बजेपछि जोशीको हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया