बंगलादेशमा मोदीविरुद्ध हिंसात्मक प्रर्दशन, पाँच जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १४ चैत्र

काठमाडौं, १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध हिंसात्मक भएको छ ।
बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रबार राजधानी ढाका पुगेका हुन् । एउटा इस्लामिक धार्मिक संगठनले शनिबार पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने आइतबार हडताल गर्ने घोषणा गरेको छ ।
शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बंगलाले जनाएको छ ।
ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ ।
बीबीसीका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी संगठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए ।
ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए । विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो ।
ढाकामा शुक्रबारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको बताइएको छ ।
दक्षिणपन्थी इस्लामिक संगठनहरूले मोदीको नीति ‘मुस्लिम समुदायविरोधी’ भएको आरोप लगाउँदै विरोध गरिरहेका छन् । भारतले बंगलादेशसँग ‘हेपेर व्यवहार गर्ने गरेको’ आरोप लगाउँदै प्रदर्शनकारीहरूले ‘भारतीय आक्रामकता’को विरोध गरेको दाबी गरेका छन् ।
शुक्रबार चटगाउँ र ब्राह्मनबारियामा के भयो ?
ढाकामा प्रहरीले कारबाही गरेको सूचना पाएपछि चटगाउँस्थित हाटहजारी मदरसाबाट विरोध ¥याली निकालिएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले कारबाही गर्दा घाइते भएका मानिसलाई चटगाउँ मेडिकल कलेजको अस्पतालमा लगियो । घाइतेमध्ये कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँस्थित एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।
हिफाजत–ए–इस्लामका नेता मुजिबुर रहमान हमिदीले आफ्ना केही समर्थकहरूको मृत्यु भएको बीबीसी बंगलालाई बताएका छन् । प्रदर्शनकारीहरूको अवरोधका कारण शनिवार अपराह्नसम्म चटगाउँलाई जोड्ने एउटा राजमार्ग बन्द छ ।
ब्राह्मनबारियामा पनि शुक्रबार मदरसाका विद्यार्थीहरूले एउटा ¥याली निकालेका थिए । चटगाउँमा प्रदर्शनकारीको मृत्यु भएको सूचना पाएपछि उनीहरू उग्र भएका थिए ।

प्रतिक्रिया