झा दम्पती हत्या प्रकरण : थप तीन पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७७, १४ चैत्र

महोत्तरी, १४ चैत । जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरणपछि हत्यामा संलंग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनी तीनैजना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ । उनीहरुलाई तीनै जनालाई शुक्रबार पक्राउ गरेको हो । अनुसन्धनका क्रममा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका बेला झा दम्पती बेपता भएका थिए । एक महिनापछि उनीहरुको बिहीबार माटो पुरेको अवस्थामा कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टमपश्चात् दाहसंस्कार गरिएको छ ।
यसअघि घटनामा संलग्न रहेको भन्दै रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
पक्राउ परेकामध्ये ठाकुरले झा दम्पतीको जग्गानजिकै प्लटिङ गरेको र प्लटिङ गरिएको जग्गाबाट सडकमा आउने बाटो नभएको हुँदा पटक–पटक झा दम्पतीलाई बाटोका लागि जग्गा बिक्री गर्न दबाब दिएर पनि बिक्री नगरेकाले अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया