ओलीलाई नेपाल र खनालको स्पष्टिकरण चित्त बुझेन : भने, ‘स्पष्टिकरण कारबाही योग्य छ’
अखबार टुडे
प्रकाशित:
२०७७, १३ चैत्र

काठमाडौं, १३ चैत । नेकपा एमालेको संसदीय दलको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पठाएको स्पष्टीकरण ‘कारबाहीयोग्य’ रहेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् । त्यसबारे आगामी केन्द्रीय कमिटिको बैठकमा छलफल हुने अभिव्यक्ति प्रधानमन्त्रीको रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा सर्वोच्च अदालतको फैसलाबाट अघिल्लो महिना नेकपा एमाले ब्युँतिएपछि पहिलोपटक माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरू सहभागी भएका थिए । उनीहरूले नेकपा माओवादी केन्द्रसँग २०७५ जेठमा भएको एकताभन्दा अघिको अवस्थामा पार्टीलाई फर्काएर दलभित्र एकता सुनिश्चित गर्नुपर्ने माग पार्टी ओलीसँग गरेका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन आएका नेताहरूलाई स्वागत गर्दै ‘नेता नेपाल र खनाल समूहले माग गरेजस्तो पुरानो अवस्थामा एमाले फर्कन नसक्ने’ बताए ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘दुई जनाको स्पष्टीकरण आएको छ, त्यो अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागीदार हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । बाँकी दुई जनाको स्पष्टीकरण अत्यन्त सकारात्मक कोणबाट आओस् र त्यसले पार्टी एकतालाई एक ढिक्का राख्न मद्दत पुगोस् भन्ने आशयका साथ स्पष्टीकरण आउने अपेक्षा गर्दछु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’
उनका अनुसार स्पष्टीकरण बुझाएका नेता नेपाल र रावललाई कस्तो कारबाही गर्ने भन्नेबारे केन्द्रीय कमिटीले टुंगो लगाउने छ ।
यसै हप्ता चार जना नेतालाई पार्टी हितविपरित काम गरेको भन्दै ओली पक्षले स्पष्टीकरण सोधेको थियो । जसमध्ये दुई जनाले अझै स्पष्टीकरण बुझाउन बाँकी छ ।
प्रमुख सचेतक भट्टराईका अनुसार प्रधानमन्त्रीले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलले गरेका केन्द्रीय सदस्य थप, पदाधिकारी हेरफेर र विधान संशोधन जस्ता निर्णय विधिसम्मत भएकाले त्यो फिर्ता नहुने बताएका थिए ।
बैठकमा नेता झलनाथ खनाल र नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले पनि धारणा राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले माओवादी केन्द्रसँग एकता हुनुभन्दा अघिको परिस्थितिमा पार्टीलाई फर्काउन गरेको आग्रह ओलीले अस्वीकार गरेको बताइन्छ ।
नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरूले तितो मिठो बिर्सेर अघि बढ्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । उनले मुलुकले एमालेमा एकता खोजेको भन्दै जसरी संसदीय दल पूर्ववत् अवस्थामा फर्कियो, त्यसरी २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउन पहलकदमी गर्न ओलीसँग आग्रह गरेका थिए ।
यसअघि शुक्रबार अपरान्ह बसेको माधव नेपाल–झलनाथ खनाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय लिएको थियो ।

प्रतिक्रिया