काठमाडौंमा वायुप्रदुषण : अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०७७, १३ चैत्र

काठमाडौं, १३ चैत । काठमाडौंको आकाशमा वायुप्रदुषण बढेपछि शुक्रबार हवाई उडान प्रभावित बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २ बजेबाट उडान तथा अवतरण अवरुद्ध भएको हो । अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् ।
हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नुपरेको छ ।
प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान–अवतरण प्रभावित बनेको हो । त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिविलटि अहिले मात्र १ हजार मिटरमात्र रहेको कार्यालयले जनाएको छ ।
यस्तै, पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर पठाइएको छ । बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई समेत जनकपुर डाइभर्ट गरिएको छ ।
नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ । चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ । धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । अहिले काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लागेको छ ।

प्रतिक्रिया