ओलीमाथि नेपालको प्रश्न, ‘तपाइँमा पार्टी विभाजनको दुराशय देखियो किन नभन्ने ?’
अखबार टुडे
प्रकाशित:
२०७७, १२ चैत्र

काठमाडौं, १२ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३बुँदे लिखित स्पष्टिकरण दिएका छन् ।
यही ९ चैतमा ओली पक्षको नेपकपा केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफमा नेता नेपालले ओलीसमक्ष पनि प्रश्न गरेका छन् ।
नेता नेपालले बिहीबार पठाएको जवाफमा केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने ओलीलाई प्रश्न गरेका छन् ।
सर्वोच्च अदालतको आदेशको अवज्ञा नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने गलत मनासाय बोकेको ओलीमाथि नेपालको आरोप छ । ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ ओलीमाथि नेपालको प्रश्न छ ।
पार्टीले सोधेको १०बुँदे स्पष्टीकरणको जवाफमा नेता नेपाले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् ।
अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाइँले गर्नुभएका गतिविधिहरु नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ ।’
नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने गलत मनसाय राखेको किन नभन्ने भनेर प्रश्न गरेका छन् ।
२३ फागुनमा गरेको सर्वोच्चको फैसलामा एमाले र माओवादी केन्द्र पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु र आयोगले पार्टी एक हुने भए १५ दिनभित्र आउनु भनेको स्मरण गर्दै उनले भनेका छन्, ‘केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनु भएन ? यसरी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाइँको गलत मनसाय रहेको छ किन नभन्ने ?’
यस्तै, एमाले पुर्नस्थापित भएपछि विगतको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? भनेर प्रश्न गरेका छन् ।
२ चैतमा पार्टी कार्यालय, धुम्बाराहीमा भएको छलफलमा पार्टी एकीकरणपूर्वको पार्टी तथा जनसंगठनहरुको संरचना स्वीकार गरौं र २८ फागुनमा गरेको बदर गरौँभन्दा अस्वीकार गरेको भन्दै वरिष्ठ नेता नेपालले प्रश्न गरेका छन्, ‘तपाइँमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’
अध्यक्ष ओलीले पुर्नस्थापित एमालेलाई एकतावद्ध बनाएर लैजान नखोजेको नेता नेपालको आरोप छ । आफूहरुलाई जानकारी नै नदिई २८ फागुनमा गुट भेला गरेको र पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, पार्टी सदस्य नै नभएका २३ जनालाई केन्द्रीय सदस्य मनोनयन र पार्टी विधानमा संशोधन जस्ता निर्णय गरेको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई सोधेका छन्, ‘पार्टी विधानको उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’
त्यो निर्णय पार्टी विधान विपरीत भएकाले आफूहरु निर्वाचन आयोग गएको भन्दै उनले प्रश्न गरेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईंले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो ? पार्टी विधान विपरीत मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको कुरा गर्दै नेकपा (एमाले) का सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको भनी तपाईंले कसरी भन्नसक्नुभयो ? यस्तो स्वेच्छाचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन ?
अध्यक्ष ओली स्वयंले पार्टीको विधान, विधि, पद्धति, प्रक्रिया, अनुशासन र मान्यताको उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपालले आफूलाई स्पष्टीकरण सोध्दै लेखिएको पत्र नै अवैध भएको समेत दाबी गरेका छन् । भ्रम सिर्जना गर्ने उद्देश्य मात्र पत्र पठाएको नेता नेपालको आरोप छ ।
आफूलाई पठाएको पत्रमा साबिकको नेकपा तीन बर्षे कार्यकालका केही विषय पनि भ्रम सिर्जना गर्नेगरी उल्लेख गरिएको भन्दै उनले खण्डन गरेका छन् । ओली स्वयंले पटक–पटक पार्टी विधान, पद्धति र निर्णयको उल्लंघन तथा अवज्ञा गरेको भन्दै उनले भनेका छन्, ‘कसले कहाँ स्वेच्छाचारी र अनुशासनहीन काम ग¥यो ? कसले विधान एवं पद्धति मिच्यो ? तथ्यगत जानकारी चाहेको भए पुनःस्थापित एमाले केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्ने आँट किन गर्नुभएन ?’

प्रतिक्रिया